काठमाडाैं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले आगामी निर्वाचनपछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अघि बढाइने घोषणा गर्नुभएको छ ।
काठमाडौं मा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो ।
पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै अध्यक्ष ओलीले देश पुस्ताबीचको द्वन्द्वले नबनेको र नबन्ने बताउनुभयो । उहाँले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि दुवै आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
युवा ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शन मिलेर मात्रै देशको भविष्य उज्यालो हुने बताउँदै उहाँले युवा आगो जस्तै भए पनि त्यसलाई सही दिशा आवश्यक हुने र अनुभव उज्यालो भए पनि त्यसलाई ऊर्जा चाहिने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले यो निर्वाचनलाई पुस्तान्तरणको विषय नभई देश बनाउने र भत्काउनेबीचको जनमत सङ्ग्रह भएको दाबी गर्नुभयो । साथै, राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि ‘देश पहिला’ भन्ने भावनासहित मतदान गर्न सबै नागरिकलाई अपिल गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया