सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्दै मध्यम वर्ग केन्द्रित योजना अघि सार्‍यो राष्ट्रिय स्वतन्त्र पार्टी

120 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेत मा आयोजित चुनावी सभामाझ पार्टीले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

चुनावी सभाकै बीचमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डोलप्रसाद अर्याल र नेता डा. स्वर्णिम वाग्ले लगायतका नेताहरूले संयुक्त रूपमा वाचापत्र सार्वजनिक गरेका थिए ।

पार्टीले सार्वजनिक गरेको वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेको छ । आर्थिक असमानता न्यूनीकरण, रोजगारी सिर्जना, सेवा प्रवाह सुधार तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

वाचापत्रमार्फत राज्यका सेवा र अवसरमा मध्यम वर्गको पहुँच विस्तार गर्ने, कर प्रणालीलाई न्यायोचित बनाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा युवा जनशक्तिलाई देशमै अवसर सिर्जना गर्ने विषयलाई विशेष जोड दिइएको पार्टीले जनाएको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउने, भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ लागू गर्ने तथा स्थानीय तहसम्म विकासको प्रतिफल पुग्ने गरी नीति बनाउने प्रतिबद्धता समेत वाचापत्रमा उल्लेख गरिएको छ ।

पार्टीले आगामी निर्वाचनलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारको आधार बनाउने लक्ष्यसहित वाचापत्र सार्वजनिक गरिएको जनाएको छ ।