काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई नेकपा एमाले ले अराजक तत्वको संज्ञा दिएको छ ।
बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा क्षति भएका संरचनाहरू एक वर्षभित्र पुनः निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ । घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको आगजनी र तोडफोडबाट क्षति पुगेका सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी चौकी तथा पालिका कार्यालयलगायत सार्वजनिक भवन पुनर्निर्माण गरिने उल्लेख गरिएको छ ।
आगजनी तथा तोडफोडबाट निजी क्षेत्रको सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत एमालेले जनाएको छ । साथै बीमित संरचना तथा व्यवसायको बीमा भुक्तानी छिटो सम्पन्न गराउने योजना रहेको बताइएको छ ।
घोषणापत्रमा आगजनी र तोडफोडमा संलग्न व्यक्तिलाई पहिचान गरी कानुनी दायरामा ल्याउने र दण्डहीनताको अन्त्य गर्ने उल्लेख गरिएको छ ।
यसैगरी गत वर्षदेखि आएको बाढी, पहिरो तथा पश्चिम क्षेत्रमा गएको भूकम्पले क्षति पुर्याएका संरचनाहरू दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता समेत एमालेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया