काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानी काठमाडौं स्थित एक होटलमा आयोजित कार्यक्रममा पार्टीले भर्चुअल माध्यममार्फत घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताएका छन् ।
एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विशेषगरी युवालाई लक्षित विभिन्न योजना समेटिएका छन् । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता विकास गर्ने, सीपमूलक तालिम विस्तार गर्ने तथा स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने योजना समावेश गरिएको पार्टीले जनाएको छ ।
यसैगरी सञ्चार क्षेत्रको विकासलाई पनि घोषणापत्रमा प्राथमिकतामा राखिएको छ । आधुनिक प्रविधिमैत्री सञ्चार पूर्वाधार निर्माण गर्ने, डिजिटल प्रविधिको विस्तार गर्ने तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउने योजनाहरू उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमार्फत आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य समेत एमालेले लिएको छ ।
पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै समग्र राष्ट्रिय विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै संघीय संरचनालाई प्रभावकारी बनाउँदै प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने योजना समेत घोषणापत्रमा समेटिएको बताइएको छ ।
एमालेले घोषणापत्र कार्यान्वयनमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य राखेको बताउँदै आगामी निर्वाचनमा मतदातासँग समर्थन माग्ने रणनीति बनाएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया