प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

180 Shares

काठमाडौं रामचन्द्र पौडेल ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नुभएको छ।

मंगलबार शेर्पा संघ ले आयोजना गरेको ग्याल्पो ल्होसार (२१५३ औँ मे फो त ल्हो) नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उहाँले निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको हो।

राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि हासिल हुने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व तथा राष्ट्रिय एकता सुदृढ हुने बताउनुभयो। लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै भएको उल्लेख गर्दै उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सबैलाई जुट्न आग्रह गर्नुभयो।

उहाँले लोकतान्त्रिक प्रणाली सुदृढ बनाउन तथा निर्वाचनलाई मर्यादित र सफल बनाउन सबै पक्ष एक भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।