सेयर बजारमा सुस्ती, नेप्से सूचक घट्यो

164 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै सेयर बजारमा पनि रौनक घट्न थालेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी प्रचार–प्रसारमा खटिएसँगै त्यसको असर सेयर बजारमा देखिन थालेको हो।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय गरेको छ। सोही अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता गाउँ–गाउँ खटिएका छन्। सेयर बजारमा गरिएको लगानी बिक्री गरेर चुनावी गतिविधिमा लागेपछि बजारमा कारोबार सुस्त हुन थालेको एक ब्रोकरले बताएका छन्।

‘सेयर खरिदभन्दा बिक्री चाप बढेको छ। निर्वाचनअघि बजार सकारात्मक हुने सम्भावना कम छ,’ ती ब्रोकरले बताएका छन्। निर्वाचनपछि आउने नतिजाका आधारमा धितोपत्र बजारले प्रतिक्रिया दिने उनको बुझाइ छ।

फागुन सुरु भएपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक घटेको छ। गत साता बिहीबार करिब ८ अंक बढेको नेप्से सूचक सोमबार ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा झरेको छ। कारोबार सुरु हुँदा सूचक २६७१.०७ बिन्दुमा रहेको थियो।

नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ। यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घट्दा ८६ कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सोमबार समूहगत परिसूचकतर्फ बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन्। तर वित्त, होटल र उत्पादनमूलक समूह भने बढेका छन्।

सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। यो रकम गत बिहीबारको तुलनामा कम हो। गत बिहीबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।