आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५३ अर्ब बराबर भन्सार कर छुट दिएको तथ्यांक

159 Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा करिब ५३ अर्ब रुपैयाँ बराबर भन्सार महशुलमा कर छुट दिएको छ।

अर्थ मन्त्रालय नेपाल का अनुसार ४ खर्ब ८ अर्बको मालवस्तु पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ महशुल छुट गरिएको छ। मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग गरी मूल्य अभिवृद्धि कर छुट हुने वस्तुहरूको पैठारीमा २ खर्ब १६ अर्ब २ करोड २९ लाख बराबरका वस्तुमा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ करछुट दिइएको छ।

भन्सार ऐन, २०६४ को दफा ९ अनुसार कुटनीतिक सुविधाअन्तर्गत पैठारी भएका ५९ करोड ७५ लाख बराबरका वस्तुमा ४८ करोड २९ लाख भन्सार महशुल छुट गरिएको छ। त्यस्तै, महशुल सुविधाका नाममा ८ करोड ८ लाख बराबरका वस्तुमा ४ करोड २१ लाख करछुट दिइएको छ।

मुनाफा रहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरूले गरेको ३७ अर्ब ५४ करोड बराबरको मालवस्तुमा सरकारले ९ अर्ब ५० करोड कर छुट दिएको छ। आयोजना विकास सम्झौता अनुसार परियोजना विकासका लागि ठेकेदारको नाममा पैठारी भएका ३९ अर्ब ९२ करोड ६ लाख बराबरको मालवस्तुमा सरकारले १४ अर्ब ९७ करोड ८ लाख करछुट दिएको छ।

साफ्टा सुविधा अन्तर्गत पैठारी भएका ४२ अर्ब ४० करोड ४४ लाख बराबरको मालवस्तुमा २७ अर्ब ६९ करोड बराबरको करछुट दिइएको छ। विविध छुट सुविधामध्ये शीर्षकमा १ खर्ब ४० अर्ब ७८ करोड ६९ लाख बराबरका वस्तुमा १७ अर्ब ४० करोड ३३ लाख करछुट भएको अर्थ मन्त्रालयले जनाएको छ।

आन्तरिक राजस्वतर्फ आर्थिक ऐन, २०८२ को व्यवस्थाअनुसार ३ हजार ४ सय ७७ करदातालाई ५५ करोड ५७ लाख ६० हजार बराबरको करछुट तथा सहुलियत प्रदान गरिएको छ।

हालका अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदनले यसरी दिइने करछुटमा गम्भीर प्रश्न उठाएको थियो। तर अर्थ मन्त्रालयको तथ्यांकले देखाएको अनुसार करछुट दिने प्रवृत्ति हाल पनि कम नभएको छ।