दमकका विभिन्न चौकमा आज केपी शर्मा ओलीको भेटघाट कार्यक्रम

133 Shares

काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर दमक का मुख्य चौकहरूमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन्।

अध्यक्ष ओलीले दमक नगरपालिका अन्तर्गतका मुख्य चौकहरूमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चौकमा आयोजना हुने भेटघाट कार्यक्रममा ओली सहभागी हुनुहुनेछ। त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक–६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय भएको छ।

त्यसैगरी सोमबार दिउँसो १ बजे दमक–७ स्थित तविन चौकमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि दिउँसो २ बजे दमक–१ को हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा पुग्ने कार्यक्रम रहेको छ। सोमबार दिउँसो ३ बजे दमक–२ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ। सोमबार दिउँसो ४ बजे दमक–३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

झापा जिल्ला – ५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको संयोजक भण्डारीले जानकारी दिएका छन्।