परिवर्तित अवस्थामा कांग्रेसले जनविश्वास जित्दै अघि बढेको दावी : विश्वप्रकाश शर्मा

126 Shares

काठमाडौंनेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको दावी गर्नुभएको छ।

पार्टी कार्यालय सानेपामा आइतबार जनता समाजवादी पार्टी नेपाल का नेताहरूलाई कांग्रेसमा प्रवेश गराउँदै उपसभापति शर्माले यस्तो दावी गर्नुभएको हो। निर्वाचनमा बहुमत नजिक पुग्ने गरी परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि बढेको उहाँको भनाइ छ। नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत उहाँले जिकिर गर्नुभयो।

अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै उपसभापति शर्माले यही गतिमा जनमत बढ्दै जाँदा एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने बताउनुभयो। जेनजी विद्रोहपछि सबैभन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको समेत उहाँको दावी थियो।

उपसभापति शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर लागेको बताउनुभयो। पार्टी नेता–कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको उहाँको दावी छ।