प्रलोपा: गोरखामा कसैलाई समर्थन नगरेको स्पष्ट

148 Shares

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डल सदस्य सुदन किराँती ले प्रतिनिधि सभा निर्वाचनमा गोरखामा कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पारेका छन्।

आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै सुदन किराँतीले गोरखामा पार्टीले कसैलाई समर्थन गर्ने निर्णय नगरेको जानकारी दिएका हुन्। पार्टीले गोरखा क्षेत्र नम्बर २ मा संरक्षक डा बाबुराम भट्टराई र क्षेत्र नम्बर १ मा गोपालबाबु श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। तर दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कसैलाई समर्थन नगर्ने निर्णय गरेको उनले बताए।

उहाँका अनुसार उम्मेदवारले किन फिर्ता लिएका भन्ने विषयमा पार्टीलाई जानकारी छैन र सोधपुछ पनि गरिएको छैन। हाल संरक्षक डा. भट्टराई व्यक्तिगत शोकमा रहेकाले विस्तृत छलफल हुन सकेको छैन। तर दीर्घकालीन दृष्टिकोणका साथ डा. भट्टराईले निर्णय गरेको हुन सक्ने उहाँले बताए।

किराँतीले भने, “हामीले हाम्रो संरक्षक र अभिभावक मानेको छौँ र सबैले उहाँलाई अभिभावक मान्न थालेको छ। नेपालको भूराजनीति निकै जटिल अवस्थामा छ, त्यसको मूल्यांकन गरेर उहाँले निर्णय गरेको हुनुपर्छ। हामीले गोरखामा कसैलाई सहयोग गरेका छैनौँ र ८७ सिटमा जित हासिल गर्ने लक्ष्यमा अघि बढेका छौँ।”

पार्टीले कतिपय स्थानिय आवश्यकताका आधारमा भिन्न विचार बोकेको दलहरूसँग गठबन्धन गरेर चुनावी तालमेल पनि गरेको जानकारी दिइएको छ।