सर्लाही । संविधान सभाका सदस्य केदारनन्दन चौधरी र जनता समाजवादी पार्टी नेपालका महासचिव मनिषकुमार मिश्र औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत अचलगढमा आयोजित भव्य कार्यक्रममार्फत उनीहरूले कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा सो क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले दुवै नेतालाई पार्टीमा स्वागत गर्दै कांग्रेसको नीति, योजना र लक्ष्यलाई सशक्त बनाउन सहकार्य गर्न आग्रह गरेका थिए । उनले कांग्रेसलाई देश विकास, लोकतान्त्रिक मूल्य र आर्थिक समृद्धिको मुख्य शक्ति बनाउने उद्देश्य रहेको बताएका थिए ।
चौधरी र मिश्रले लामो राजनीतिक अनुभव तथा जनतासँगको सम्बन्धलाई कांग्रेसमार्फत अझ प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । देशमा स्थिर राजनीति, रोजगारी सिर्जना र विकासलाई प्राथमिकता दिन कांग्रेससँग सहकार्य गर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा हजारौँ समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले कांग्रेसप्रति बढ्दो आकर्षण देखिएको भन्दै आगामी राजनीतिक यात्रामा पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न दलका नेताहरू कांग्रेसमा प्रवेश गर्नुले आगामी निर्वाचनको माहोललाई थप चासोपूर्ण बनाएको छ । कांग्रेसले यसलाई संगठन विस्तार र जनआधार मजबुत बनाउने अवसरका रूपमा लिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया