ओलीलाई मत हाल्न एमालेका ३० कारण सार्वजनिक

149 Shares

काठमाडौं ।ओलीलाई मत हाल्न एमालेका ३० कारण सार्वजनिक नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली लाई मत हाल्नुपर्ने ३० वटा कारण सार्वजनिक गरेको छ । पार्टीको झापा क्षेत्र नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा देखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएका छन् ।

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउन ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ । देशमा छाएको त्रासको वातावरण अन्त्य गर्दै सबै नागरिकलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न ओलीलाई मत दिनुपर्ने अपिलमा उल्लेख गरिएको छ । साथै झापा–५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू सम्पन्न गर्न ओलीलाई मत दिन आह्वान गरिएको छ ।

अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराई सीपमूलक विकासमार्फत स्वरोजगार वृद्धि गर्न ओली आवश्यक रहेको उल्लेख गरिएको छ । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन, कृषिक्षेत्र विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि ओलीलाई मतदान गर्न आग्रह गरिएको छ ।

निर्माणाधीन एसियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकको अधुरा निर्माण कार्य सम्पन्न गर्न पनि ओलीलाई मतदान गर्न आग्रह गरिएको छ । दमक–रवि–चिसापानी सडक निर्माण सम्पन्न गरी स्थानीय जीवनस्तर उकास्न पनि ओलीलाई निर्वाचित गर्नुपर्ने अपिलमा उल्लेख छ ।

त्यसैगरी नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण सम्पन्न गर्न, दमक, गौरादह र गौरिगञ्ज बजारलाई स्मार्ट सिटीका रूपमा विकास गर्न ओली आवश्यक रहेको एमालेको भनाइ छ ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, रतुवा, मावा र कमल खोलामा तटबन्धन, साथै स्थानीय अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आग्रह गरिएको छ ।

एमाले केन्द्रीय सदस्य दीपक कार्कीले केपी ओली र झापा–५ एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै विकास निर्माणका काम र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण ओलीले सहजै जित हासिल गर्ने दाबी गरे ।

उनका अनुसार मतदातालाई जानकारी गराउने उद्देश्यले अपिल तयार गरिएको हो । यस्तो सामग्री घरदैलो अभियानमा उपयोगी हुने र प्रत्येक वडामा ठूलो संख्यामा वितरण गरिने उनले जानकारी दिए ।