काठमाडौं । कांग्रेसलाई पनि वामपन्थी विचारधाराको संवाहकका रूपमा लिन्छु : कमल थापा कमल थापा ले नेपाली कांग्रेस लाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिका रूपमा लिएको बताएका छन् ।
शनिबार काठमाडौं मा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता समेत रहेका थापाले लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा वामपन्थी विचार र शक्तिहरूको वर्चश्व रहेको उल्लेख गरे । उनले नेपाली कांग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे ।
उनले नेपालको राजनीतिमा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्मका धाराहरू हावी रहेको उल्लेख गर्दै समाजलाई लेफ्ट–ओरिएन्टेड राजनीतिक विचारको रूपमा व्याख्या गरिँदै आएको बताए ।
थापाले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले गहिरो जरो गाडेको भए पनि राजनीतिक रूपमा त्यसको विपरीत साम्यवाद, मार्क्सवाद र समाजवादले नेतृत्व गर्ने अवस्था बनेको जिकिर गरे ।
उनले नेपाली जनमानस सनातन धर्म, संस्कृति र परम्पराप्रति आस्थावान रहेको उल्लेख गर्दै प्राचीन वैदिक मूल्य र मान्यताले नेपाली समाजको विशिष्ट चरित्र निर्माण गरेको बताए । साथै, सामाजिक र राजनीतिक धाराबीचको विरोधाभास अन्त्य हुनुपर्ने आफ्नो धारणा रहेको पनि उनले उल्लेख गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया