ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त नभएको शर्माको टिप्पणी

164 Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गर्नुभएको छ।

सोमबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दुवै नेताको बोल्ने शैलीलाई लक्षित गर्दै अत्यधिक बोल्ने वा बोल्नै नचाहने प्रवृत्तिबाट देश सञ्चालन सम्भव नहुने बताउनुभयो। प्रधानमन्त्रीले सन्तुलित र जिम्मेवार ढंगले बोल्न सक्ने नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रभावकारी प्रतिनिधित्व गर्न सक्नुपर्ने उल्लेख गर्दै कांग्रेस सभापति गगनकुमार थापालाई “तौलेर बोल्ने” नेताका रूपमा प्रस्तुत गर्नुभयो। अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्री चयनको भएकाले अभिव्यक्ति र व्यवहारमा परिपक्वता आवश्यक पर्ने उहाँले बताउनुभयो।

शर्माले भावनात्मक वा उत्तेजित अभिव्यक्ति प्रधानमन्त्री पदका लागि उपयुक्त नहुने टिप्पणी गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवाद सम्हाल्न सक्ने क्षमता भएको नेतृत्व आवश्यक रहेको धारणा राख्नुभयो।

यसै क्रममा उहाँले जेन–जी आन्दोलनका बेला सरकारमा रहँदा आफ्ना पार्टीबाट भएका कमजोरीको जिम्मेवारी लिन तयार रहेको पनि बताउनुभयो।