लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको दाहालको दावी

174 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको दावी गर्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय संकट सामना गर्न तयार रहेको बताउनुभयो। सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्दै उहाँले विचार, राजनीति र इतिहासको आधार बिना केवल प्रचारकै भरमा लोकतान्त्रिक मूल्यहरू कमजोर पार्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो।

उहाँका अनुसार यस्तो प्रवृत्ति अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र हो। गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि संघर्षरत आफ्नो पार्टी नै नयाँ विचार बोकेको शक्ति भएको दाहालले दाबी गर्नुभयो।

संयोजक दाहालले ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औँल्याउनुभयो। साथै पार्टीको नयाँ चुनाव चिह्न ‘तारा’बारे मतदातालाई स्पष्ट जानकारी दिन कार्यकर्तालाई निर्देशन दिँदै सामाजिक सञ्जाल प्रचारको माध्यम भए पनि जनतासँग प्रत्यक्ष भेटघाट र टोल–टोल अभियान अझ प्रभावकारी हुने बताउनुभयो।