काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गर्नुभयो। उहाँले महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम र थारू समुदायलाई पहिचान र अधिकार दिने काम आफ्नो पार्टीले मात्र गरेको जिकिर गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले ‘तथाकथित नयाँ’ कहलिने शक्तिहरूकै कारण देश संकटमा परेको टिप्पणी गर्नुभयो। नयाँ र पुरानो भन्ने विषय विचार र एजेण्डाका आधारमा छुट्याउनुपर्ने उहाँको तर्क थियो।
संयोजक दाहालले राष्ट्र र जनताको हितमा समर्पित शक्ति नै वास्तविक अर्थमा नयाँ हुने स्पष्ट पार्दै परिवर्तनको प्रक्रियामा बसेर परिवर्तनकै वाहकलाई गाली गर्नेहरू नयाँ हुन नसक्ने बताउनुभयो। उहाँले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै त्यसको जिम्मेवारी तथाकथित नयाँ शक्तिहरूले लिनुपर्ने धारणा राख्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया