‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्य गलत : नेता माधव सापकोटा

156 Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव सापकोटाले पछिल्लो समय राजनीतिक वृत्तमा फैलाउन खोजिएको ‘सबै पार्टी र उम्मेदवार उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गर्नुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित चुनावी प्रचार–प्रसार कार्यक्रममा सम्बोधन गर्दै नेता सापकोटाले सबै दल र उम्मेदवारलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनुभयो। उहाँले पार्टीका कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत दैनिक रूपमा यस्ता भ्रम चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो।

विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै सापकोटाले मनग्य धन–दौलत कमाएर, पद र प्रतिष्ठाको आशक्तिमा राजनीति प्रवेश गरेका ‘घण्टी बजाउनेहरू’ आफूहरूजस्तै नभएको टिप्पणी गर्नुभयो। उहाँले केही नयाँ उम्मेदवारलाई आधारभूत सरकारी संरचना र कार्यालयसम्बन्धी जानकारीसमेत नभएको भन्दै उनीहरूका अभिव्यक्तिलाई हाँस्यास्पद रहेको बताउनुभयो।

नेता सापकोटाले पार्टीका तर्फबाट विगतमा भएका कमजोरीहरू स्वीकार गर्दै जनतामाझ गएर आत्मालोचना गर्न पार्टी तयार रहेको स्पष्ट पार्नुभयो। साथै, उहाँले कार्यकर्तालाई प्रत्येक दिन कम्तीमा एउटा पोस्ट लेखेर विरोधी भाष्यको गम्भीरतापूर्वक खण्डन गर्न आह्वान गर्नुभयो।