काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले एमाले नीतिगत रूपमा अझै पनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले संसद पुनःस्थापना भए मुलुकले कम जोखिमका साथ संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामी नीतिगत रूपमा अहिले पनि संसद पुनःस्थापना हुन्छ भने यो मुलुकले सबैभन्दा कम जोखिमबाट प्राप्त गरेको संविधान र लोकतन्त्रलाई सहज बाटोमा फर्काउन सक्छ भन्ने मान्यता राख्छौँ। यो मान्यता अहिले पनि नेकपा एमालेको आधिकारिक धारणा हो।”
यद्यपि, देश निर्वाचनको प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमाले त्यसबाट नभाग्ने पनि उहाँले स्पष्ट पार्नुभयो। जनतासामु गएर आफ्ना नीति, कार्यक्रम, विगतका काम र योगदानका आधारमा अनुमोदन लिन एमाले तयार रहेको उहाँको भनाइ थियो। “एमाले भाग्दैन, भागेको छैन,” उहाँले जोड दिनुभयो।
डा. भट्टराईले आगामी निर्वाचनलाई विवेकपूर्ण र संयमित ढंगले लिनुपर्ने आवश्यकता औँल्याउँदै गलत निर्णयले भविष्यमा सच्याउनै नसकिने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिनुभयो। उहाँले उदाहरण दिँदै केही देशहरूमा भएको निर्णयले दीर्घकालीन असर पारेको प्रसंग पनि उल्लेख गर्नुभयो।
उहाँका अनुसार आगामी निर्वाचनबाट देशलाई दीर्घकालीन रूपमा स्वतन्त्र, सन्तुलित र स्थिर दिशामा अघि बढाउन सक्ने नेतृत्व स्थापित हुन आवश्यक छ। साथै, काठमाडौं उपत्यकाभित्र एमालेले उल्लेखनीय सफलता हासिल गर्ने दाबी पनि उहाँले गर्नुभयो। उहाँले उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा एमालेका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया