पुरानो संसद फर्काउने कुनै चलखेल स्वीकार्य हुँदैन : रवि लामिछाने

162 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसदलाई षड्यन्त्रपूर्ण ढंगले पुनःस्थापित गर्ने कुनै पनि चलखेल, दबाब वा धम्की स्वीकार्य नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देश “अन्तिम परिवर्तन”को तयारीमा रहेको उल्लेख गरेका छन्। पुराना शक्तिहरूलाई लक्षित गर्दै उनले रास्वपाको “सुनामी” रोक्न चुनौतीसमेत दिएका छन्।

‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले लेखेका छन्, ‘अझै जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो गठबन्धन गर्नुपर्ने हो गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’

उनले जनमत र मतपत्रमार्फत अस्वीकृत भइसकेको पुरानो संसदलाई कुनै पनि षड्यन्त्र वा शक्ति प्रयोगमार्फत फर्काउने प्रयास भए स्वीकार नगर्ने चेतावनी दिएका छन्।

हालै सामान्य चोटका कारण केही समय आराम गरेका लामिछानेले अबको आफ्नो राजनीतिक यात्रा सिंहदरबार “बदल्ने” अभियानमा केन्द्रित हुने बताएका छन्। ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु—घण्टीमा भोट,’ उनले लेखेका छन्। साथै, दलहरूका नेताहरूले राज्य संयन्त्रमा फैलाएको विकृति हटाउन जनताको समर्थन आवश्यक रहेको उल्लेख गरेका छन्।