निर्वाचन लक्षित कांग्रेसको रणनीति : केन्द्रीय पदाधिकारीदेखि सदस्यसम्म जिल्ला–क्षेत्रमा परिचालन

170 Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।

शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउँदै निर्वाचनमा सकारात्मक नतिजा ल्याउने उद्देश्यका साथ केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला तथा क्षेत्रस्तरमा खटाइने जानकारी दिनुभयो।

प्रवक्ता चालिसेले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै समयसँगै व्यक्ति मात्र पुराना हुने तर पार्टी र विचार सधैं नवीकरण हुँदै जाने बताए।

“पार्टी कहिल्यै पुरानो हुँदैन। विचार नयाँ दिन सक्नुपर्छ, नेतृत्व नयाँ दिन सक्नुपर्छ,” उनले भने, “विश्वभर पुराना राजनीतिक दलहरूभित्रैबाट नयाँ नेतृत्व उदाउँछ र त्यही लोकतान्त्रिक प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।”

लोकतान्त्रिक अभ्यासमा नागरिकको मत नै अन्तिम र निर्णायक शक्ति भएको उल्लेख गर्दै प्रवक्ता चालिसेले आगामी निर्वाचनले देशको भावी राजनीतिक दिशा तय गर्ने बताए।

“नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,” उनले भने, “नेपाली कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी निर्वाचनको मैदानमा उत्रिएको छ।”

कांग्रेसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै चुनावी अभियानलाई तीव्र बनाउने रणनीति लिएको प्रवक्ता चालिसेले जानकारी दिए।