काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश बनाउने शक्ति र देश जलाउने सोचबीच प्रतिस्पर्धा हुने बताएका छन्। आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने जिकिर गरे।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ। १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।”
कार्यक्रमका क्रममा ओलीले आगामी निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ मा आफ्ना प्रतिस्पर्धीतर्फ संकेत गर्दै कडा टिप्पणी गरे। बालेन्द्र साह (बालेन) को नाम नलिई उनले ‘ठुटे सिङ लिएर सिङ्गौरी खेल्न आएको’ टिप्पणी गरे।
उनले भने, “अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे र एउटा साँच्चैको। बतासे अण्डाबाट चल्ला निस्किँदैन।” यसमार्फत ओलीले सामाजिक सञ्जालको चर्चालाई वास्तविक जनाधारसँग तुलना गर्न नमिल्ने संकेत गरे।
अध्यक्ष ओलीले अझै चर्को शैलीमा विपक्षी शक्तिप्रति कटाक्ष गर्दै भने, “यी बतासे खेती गरिरहेका छन्। यिनीहरूसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन। भोलि उठेर कहाँ जाने, के गर्ने भन्ने पनि थाहा छैन।”
उनले तोडफोड, आगजनी र अराजकताका गतिविधिलाई क्रान्तिको नाममा महिमामण्डन गरिएको आरोप लगाउँदै भने, “पुल्ठो झोस्न जान्ने, आगो बाल्न जान्ने, देश बिगार्न जान्ने, भड्काउन जान्ने, तोडफोड र लुटपाट गर्न जान्ने कामलाई क्रान्ति भनेर प्रचार गरिएको छ।”
यस्ता गतिविधिलाई बेवास्ता गर्न कार्यकर्तालाई आग्रह गर्दै ओलीले विपक्षी समूहको जनाधार नभएको दाबी गरे। “यी आकाशे खेती हुन्। धर्तीमा जनतासँग पुगेका छैनन्। कहाँबाट कसले खेलाएको हो, थाहा छैन। मोबाइल भन्ने भाँडोबाट होहल्ला मच्चाइएको छ,” उनले भने।
मोबाइल र सामाजिक सञ्जालको प्रयोग आफूहरूले पनि गर्ने उल्लेख गर्दै ओलीले एमाले जनताका बीचमा रहेर देशका लागि काम गरिरहेको दाबी गरे। “हामी जनताका साथमा छौं। देशलाई समृद्ध बनाउँछौं, सुरक्षित बनाउँछौं र जनतालाई सुखी बनाउँछौं। त्यो गन्तव्यबाट हामी कहिल्यै विचलित हुँदैनौं,” अध्यक्ष ओलीले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया