एमाले उम्मेदवार अस्मिता थापा : ओखलढुंगामा विकास, महिला र युवाको सशक्तीकरण प्राथमिकता

158 Shares

काठमाडौँ । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास, युवा र महिला सशक्तीकरण आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ।

शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उहाँले ओखलढुंगा अब आफैं नेतृत्व गर्दै सीमानाका सडक निर्माण र पालिका–पालिकामा कालोपत्रे गर्ने अभियान अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो।

उहाँले उल्लेख गर्नुभयो कि एउटा गाउँपालिकाको व्यक्ति अझै पनि तीनवटा जिल्ला पार गर्दै सदरमुकाम पुग्न बाध्य छ। साथै मोबाइल नेटवर्कको अभावले दैनिक जीवनमा समस्या भइरहेको भन्दै डिजिटल पहुँच विस्तार गर्नुपर्ने आवश्यकतालाई जोड दिनुभयो। उहाँले भन्नुभयो, “आज पनि ओखलढुंगा मोबाइल नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ। अब फोन नेटवर्क मात्रै होइन, ओखलढुंगाका विभिन्न ठाउँमा साइबर क्याफेहरू स्थापना हुनेछ। त्यहाँ उच्चतम नेटवर्क प्रयोग गरेर, काठमाडौं नआइकन, घरको आँगनमा बसेर आईटीको काम गर्न सकिने वातावरण अबको पुस्ताले निर्माण गर्नेछ।”

शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै उहाँले विद्यालय–विद्यालयमा सही काउन्सिलर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। यसबाहेक, महिला सशक्तीकरणका लागि आसन, भाषण र शासनमा महिलालाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभयो।

उहाँले युवा पुस्तालाई भाषणभन्दा कामबाट नेतृत्व प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो। “अबको सरकारले र आउँने निर्वाचित नेतृत्वले ओखलढुंगामा प्रभावकारी विकास, सूचना प्रविधि पहुँच, सडक पूर्वाधार निर्माण र महिला सशक्तीकरणमा अग्रणी भूमिका खेल्नेछ,” अस्मिता थापाले बताउनुभयो।

अस्मिता थापा लिखु गाउँपालिकाको पूर्वउपाध्यक्ष हुन् र एमालेकी केन्द्रीय सदस्यको रूपमा युवा तथा महिला प्रतिनिधित्वको प्रतीक मानिन्छन्। उहाँको उम्मेदवारीले ओखलढुंगामा विकास, डिजिटल पहुँच, पूर्वाधार सुधार र महिला–युवा सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ।

उहाँले कार्यकर्तालाई आगामी निर्वाचनमा सक्रिय रहन र पार्टीको नीतिलाई जनसमक्ष पुर्‍याउन निर्देशन दिनुभयो। उहाँको भनाइ अनुसार, नवयुवाहरू र महिलाले पनि नेतृत्वको उदाहरण स्थापित गरी जिल्लाको विकास र सशक्तिकरणमा योगदान पुर्‍याउन सक्नेछन्।