काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीमार्फत सत्ता परिवर्तन खोज्ने तत्वहरूले देशलाई युक्रेन जस्तो संकटपूर्ण बाटोमा धकेल्न सक्ने चेतावनी दिनुभएको छ।
यो टिप्पणी उहाँले नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा गर्नुभएको हो। उहाँले यस्ता गतिविधिले मुलुकको लोकतान्त्रिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने बताए।
डा. भट्टराईले मतदातालाई भ्रम र लाञ्छनाबाट अलमलिन नहुने चेतावनी दिनुभयो। उहाँले भने, “२१ औं शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोड, हिंसा, आगजनीबाट सत्ता परिवर्तन गर्ने, खरानीमाथि उभिएर त्यसको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्वहरूको बारेमा बुझ्नुपर्छ। यदि हामी विवेकी मतदाताले यो बुझ्न सकेनौँ भने, मात्र हामी होइन, हाम्रो पछिल्लो पुस्ता, नवयुवाहरू र अलमलमा पर्ने अन्य नागरिकहरू पनि भ्रममा पर्न सक्छन्। यो अवस्थाले मुलुकको भाग्य र भविष्यलाई संकटमा पार्न सक्छ।”
उहाँले थपे कि विभिन्न तत्वहरूले भ्रम फैलाउने, आरोप–प्रत्यारोप र लाञ्छना लगाउने काम गरिरहे पनि मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्छ। “हामीले विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ, ताकि मुलुक युक्रेन जस्तो संकटपूर्ण मार्ग अपनाउने जोखिममा नपरोस्,” डा. भट्टराईले बताए।
उहाँले आगामी प्रतिनिधि सभा निर्वाचनमा मतदाताको सचेतनालाई महत्वपूर्ण ठहर गर्दै, विवेकपूर्ण मतदानबाट मात्र मुलुकको लोकतान्त्रिक स्थायित्व सुनिश्चित गर्न सकिने बताउनुभयो। यस क्रममा उहाँले एमालेका कार्यकर्तालाई निर्वाचनमा सक्रिय रहन र मतदातालाई सचेत गराउन पनि निर्देशन दिनुभयो।
उक्त भेलामा डा. भट्टराईले देशभक्तिपूर्ण दृष्टिकोण र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा सहभागी हुने सबै पक्षलाई सन्देश दिए। उहाँको भनाइ अनुसार, हिंसा, तोडफोड र आगजनीबाट सत्ता कब्जा गर्ने प्रयासहरूले लोकतन्त्र कमजोर पार्ने भएकाले नागरिक, युवा र मतदाताले सचेत भएर मत प्रयोग गर्नुपर्ने जिम्मेवारी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया