स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन हुने — सभापति गगन थापा

151 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन अघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन्।

काठमाडौं–४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै उनले अब कांग्रेसभित्र उम्मेदवार चयन प्रक्रिया ‘प्राइमरी इलेक्सन’ प्रणालीमार्फत वडास्तरबाटै हुने जानकारी दिए।

“अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,” सभापति थापाले भने, “नयाँ अधिवेशनपछि चुनावका उम्मेदवारको टिकट वडाका साथीहरूले प्राइमरीबाट छान्नुहुन्छ।”

टिकटका लागि नेताको घर धाउनु नपर्ने दाबी

सभापति थापाले अब उम्मेदवार बन्न चाहनेले शीर्ष नेताको घर धाउने अभ्यास अन्त्य हुने दाबी गरे।

“अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन, कसैले पनि महामन्त्रीको घर धाउनु पर्दैन,” उनले भने।

उनका अनुसार कांग्रेसमा अब उम्मेदवार चयन प्रक्रिया संस्थागत र पारदर्शी बनाइनेछ।

गुटबन्दी र भागबण्डाको अन्त्य भएको जिकिर

थापाले कांग्रेसभित्रको गुटबन्दी राजनीति समाप्त भएको दाबी पनि गरे।

“यो पार्टीमा कुनै गुट पनि छैन अब। हिजोको जस्तो ६०–४० भागबण्डा पनि सकियो,” उनले भने, “कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्छ।”

‘बदलिएको कांग्रेस’को सन्देश

सभापति थापाले पार्टीभित्र नागरिक र कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको उल्लेख गर्दै नेतृत्व प्रक्रिया पारदर्शी हुने बताए।

“यो बदलिएको कांग्रेस हो,” उनले भने, “यहाँ कोहीसँग पनि सभापतिको अध्याँरो कोठामा अप्राकृतिक सम्बन्ध हुँदैन।”

उनको भनाइले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउने र नेतामुखी निर्णय प्रक्रियाको अन्त्य गर्ने सन्देश दिन खोजिएको रूपमा हेरिएको छ।