सुदूरपश्चिममा ‘मौन अभियान’ सकेर कर्णालीतर्फ लागे बालेन

175 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशमा आफ्नो चुनावी अभियान सम्पन्न गरेका छन्। कैलालीको लम्कीबाट सुरु गरिएको अभियानअन्तर्गत उनले तराईका कैलाली र कञ्चनपुरसहित पहाडी सात जिल्लाको भ्रमण गरेका हुन्।

अभियानभर बालेनले सार्वजनिक मञ्चबाट कुनै सम्बोधन नगरी ‘मौन अभियान’ शैली अपनाए। विभिन्न जिल्लामा रहेका पार्टी कार्यालय र उम्मेदवारका सम्पर्क कार्यालयमा पुगेर घण्टी बजाउँदै समर्थकहरूसँग भेटघाट गरे पनि भाषणबाजी नगरेको रास्वपाले जनाएको छ।

चार दिनअघि कैलाली–२ को लम्कीबाट सुरु भएको भ्रमणका क्रममा उनले सो क्षेत्रका रास्वपा उम्मेदवार केपी खनाललगायत स्थानीय नेताहरूसँग भेटवार्ता गरेका थिए। यात्राका क्रममा बालेनले डोट्याली भाषामा सामाजिक सञ्जालमा स्टाटस लेख्दै विभिन्न स्थानका तस्बिर सार्वजनिक गरेका थिए।

लम्कीपछि धनगढी हुँदै कञ्चनपुर–१ को पुनर्बास पुगेका शाहले शुक्लाफाँटा र महेन्द्रनगरस्थित पार्टी कार्यालयमा पनि उपस्थिति जनाएका थिए। भ्रमणका क्रममा डडेल्धुराको प्रसिद्ध ‘बाजेको खीर’ स्वाद लिएको, हिमाली क्षेत्रका दृश्यसँग तस्बिर खिचेको लगायत गतिविधि सामाजिक सञ्जालमा चर्चित बनेका छन्।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा कार्यक्रम सकेर बालेनको टोली शुक्रबार कर्णाली प्रदेशतर्फ प्रस्थान गरेको रास्वपा नेता हरिश भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार बालेन हाल कालिकोटको मान्म पुगेका छन्।

भट्टका अनुसार भ्रमणका क्रममा बालेनले उम्मेदवारहरूसँग स्थानीय समस्या, मतदाताको धारणा र पार्टीको अवस्थाबारे छलफल गरेका थिए। निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै सार्वजनिक सम्बोधन नगरेको र छोटो भेटघाटमार्फत अभियान सञ्चालन गरिएको रास्वपाले जनाएको छ।

रास्वपा नेताहरूले बालेनको सुदूरपश्चिम भ्रमणले कार्यकर्ता र समर्थकमाझ उत्साह थपिएको बताएका छन्।रासस