काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै बस्नेतले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा २३ जनाको मृत्यु भएको उल्लेख गर्नुभयो। उहाँले त्यतिबेला प्रधानमन्त्री रहेका ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताउनुभयो। भदौ २४ मा संविधान र सुरक्षा निकाय नै ‘हाइज्याक’ गरेर देशलाई अस्थिर बनाउने षड्यन्त्र गरिएको पनि उहाँको आरोप थियो।
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि गम्भीर आरोप लगाउनुभयो। उहाँका अनुसार देशभरबाट १४ हजार कैदी भागेको घटनासँग लामिछानेको सम्बन्ध रहेको दाबी गर्नुभयो। भागेका कैदीमध्ये दुई जनाको मृत्यु भएको र दुई फरार व्यक्तिले आफ्नै परिवारका सदस्यको हत्या गरेको जिकिर गर्दै त्यसको जिम्मेवारी लामिछानेले लिनुपर्ने उहाँको भनाइ थियो।
यसैगरी, आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटबाट पुगेको क्षतिको जिम्मेवारी लामिछानेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि लिनुपर्ने बस्नेतको दाबी छ।
उहाँले आन्दोलनको नाममा भएको भौतिक तथा मानवीय क्षतिको “सबै हिसाबकिताब गरिने” चेतावनी दिनुभयो। साथै मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि उहाँले टिप्पणी गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया