काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा करिब २ हजार कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।
सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ भने अपुग जनशक्ति शिक्षकहरूबाट पूर्ति गरिने बताइएको छ। सुरक्षा व्यवस्थापनतर्फ २ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने योजना छ।
तनहुँमा कुल २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख २३ हजार ४ सय ९१ पुरुष र १ लाख ३० हजार ९ सय ६ महिला मतदाता रहेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन्।
जिल्लामा रहेका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार १ सय १८ र क्षेत्र नम्बर २ मा १ लाख १८ हजार २ सय ७९ मतदाता रहेका छन्।
निर्वाचनका लागि जिल्लाभर १ सय ४४ मतदानस्थल र ३ सय ९ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया