गोली चलाउने आदेश सरकारले दिएको होइन : ओली

163 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको दाबी पुनः दोहोर्‍याएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै उनले सुरक्षाकर्मीले सरकारको आदेशमा नभई कानुनअनुसार कार्य गर्ने बताएका छन्। “संसारका जुनसुकै देशका प्रमुख संवैधानिक निकायको सुरक्षाका लागि सुरक्षाकर्मी हतियारसहित कम्ब्याट पोजिसनमा खटिएका हुन्छन्। उनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,” ओलीले उल्लेख गरेका छन्।

उनले माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग नगरेको र नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली नचलेको जिकिर गरेका छन्। केही दिनयता आफूले प्रधानमन्त्रीका रूपमा गोली चलाउन आदेश दिएको भन्ने निराधार प्रचार भइरहेको दाबी गर्दै उनले संविधानले प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिन सक्ने अधिकार नदिएको स्पष्ट पारेका छन्।

ओलीका अनुसार त्यसबेला सम्भावित घुसपैठको जोखिमका कारण माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरिएको थियो। तर युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले अनुमति दिएको र प्रदर्शन शान्तिपूर्ण रूपमा अघि बढेको उनको भनाइ छ।

उनले केही समूहले योजनाबद्ध रूपमा बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ लैजान खोजेको आरोप लगाएका छन्। संसद भवनमा आगजनीको प्रयास र विस्फोटक वस्तु प्रयोग भएपछि अवस्था “आन्दोलन” नभई “राज्यविरुद्धको हमला”मा परिणत भएको दाबी उनले गरेका छन्।

ओलीले उक्त घटनापछि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गर्दै ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतलगायतका संरचनामा आगजनी भएको उनको दाबी छ।

उनले यस विषयमा सार्वजनिक रूपमा कुनै पनि मञ्चमा बसेर जवाफ दिन तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलिएका भ्रामक प्रचारमा नलाग्न नागरिकलाई आग्रह गरेका छन्। साथै उनले प्रश्न उठाएका छन्— “माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद भवनजस्तो संवेदनशील क्षेत्रमा कसले, किन र कसरी पुर्‍यायो?”