समितिको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश, भूकम्प पीडितलाई राहतमा ढिलाइ नगर्न सरकारलाई सचेत

159 Shares

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित नागरिकका लागि आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको उल्लेख छ । समितिले पीडितहरूलाई समयमै सहयोग पुग्ने सुनिश्चितता गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

यसका साथै समितिले पुरानो संसद भवनको प्रवलीकरण (सुदृढीकरण) कार्यमा समेत विशेष प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ । संरचनागत सुरक्षालाई ध्यानमा राख्दै आवश्यक काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको सभापति शर्माले बताउनुभयो ।