कुलमान घिसिङद्वारा स्पष्ट सन्देश : ‘उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह कुनै दलसँग विलय हुँदैन’

163 Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय नहुने स्पष्ट पार्नुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले रास्वपासँगको एकता सम्झौतालाई “नराम्रो दुर्घटना” को रूपमा सम्झनुभयो। उहाँले १२ दिनको एकता प्रयासपछि पार्टी ‘कोमा’मा पुगेको तर अहिले तन्दुरुस्त भएको उल्लेख गर्नुभयो।

घिसिङले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जनालाई जिताउन सबैमा अपिल गर्दै, निर्वाचनका बेला खर्च व्यवस्थापनमा सचेत हुनुपर्ने पनि बताउनुभयो।

“पार्टी गठन भएको तीन महिनामा केही समस्या आयो र बीचमा ‘कोमा’मा पनि गयौँ। तर अहिले हामी तन्दुरुस्त भएर निस्कियौँ। अब कुनै दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ। अरु पार्टी हामीसँग मिसिन सक्छन् तर हामी मिस्दैनौँ,” अध्यक्ष घिसिङले भन्नुभयो।

उहाँले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा गरेका उपलब्धीको पनि व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको दाबी गर्नुभयो।