काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी देखिएको टिप्पणी गरे। उनले निर्वाचनका बेला सामाजिक सञ्जालमा स्टन्टबाजी गर्नुबाहेक उक्त पार्टीले ठोस राजनीतिक काम गर्न नसकेको आरोप लगाए।
“घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले सिद्धान्त र विचारको खडेरी छ। सामाजिक सञ्जालमा स्टन्टबाजी गरेर जनताको दिमाग भुल्याउने काम भइरहेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै परास्त गर्न सक्छौं,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने।
प्रचण्डले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। वाम एकताबाट मात्रै मुलुक र जनताको हित सुनिश्चित हुने उनको भनाइ थियो।
“बाँकी रहेका सबै युवा र पुराना कमरेडहरूले पनि सोच्नुहोस्, हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं। त्यसले मात्रै देश र जनताको सेवा गर्छ,” उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया