काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच “पब्लिक डिबेट” अर्थात् सार्वजनिक बहस गरिनुपर्ने विषयले राजनीतिक वृत्त तातेको छ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको बताएका छन् भने उनका चुनावी प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले उनीसँग एउटै मञ्च साझा गर्न अस्वीकार गरेका छन्।
अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफू पारदर्शी सार्वजनिक बहसका लागि तयार रहेको जनाएका हुन्। उनले देशको नेतृत्व गर्न आकांक्षी दलहरूले आफ्नो एजेन्डा, विगतका काम र भविष्यका योजना मतदातासामु प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।
ओलीले सामाजिक सञ्जालमा लेख्दै प्रचार सामग्रीमार्फत वास्तविकता लुकाउने प्रवृत्ति बढेको उल्लेख गर्दै आमने–सामने बहस लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक हुने बताएका छन्। उनले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याएर सार्वजनिक बहस आयोजना गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
यस प्रस्ताव सार्वजनिक भएपछि काठमाडौं झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा रहेका रास्वपाका नेता बालेन शाहले भने उक्त बहसमा सहभागी नहुने बताएका छन्। उनले ओलीको अभिव्यक्तिमा प्रतिक्रिया दिँदै उनीसँग एउटै मञ्चमा उभिन नसक्ने टिप्पणी गरेका हुन्।
शाहले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियामा गम्भीर आरोपहरू उल्लेख गर्दै ओलीसँग मञ्च साझेदारी गर्नु उपयुक्त नहुने बताएका छन्। उनले यस्तो कदमले आफू पनि सोही आरोपसँग जोडिएको जस्तो देखिन सक्ने दाबी गरेका छन्।
ओलीको बहस प्रस्ताव र शाहको अस्वीकारपछि चुनावी प्रतिस्पर्धा केवल नीतिगत एजेन्डाभन्दा बाहिर गएर राजनीतिक आरोप–प्रत्यारोपतर्फ उन्मुख भएको देखिएको छ। सार्वजनिक बहसको सम्भावना भने सम्बन्धित दलहरूको सहमति र आयोजकको पहलमा निर्भर रहनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया