काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो राजनीतिक फेरबदल आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले राजतन्त्र हटाएर गणतन्त्र ल्याएपछि दलहरूले सञ्चालन गरेको शासन प्रणाली प्रभावकारी हुन नसकेको टिप्पणी गरे। “ठूला पार्टीहरूबाट चलाइएको शासनको अवस्था हामीले हेरिसक्यौँ, अन्त्यमा गएर भ्रष्टाचारमै लिप्त भए,” उनले भने, “मुलुकलाई दक्षतापूर्वक चलाउने क्षमता उनीहरूमा देखिएन।”
उनले वर्तमान परिस्थितिमा राप्रपा नै विकल्पका रूपमा अघि आएको दाबी गरे। धर्म, संस्कृति र परम्परा जोगाउन पनि राजतन्त्रको पुनःस्थापना आवश्यक रहेको उनको भनाइ थियो।
“यो परिस्थितिलाई बुझेर मुलुकभर राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म, संस्कृति र परम्परा कायम राख्दै एउटा ठूलो फेरबदल ल्याउनुपर्छ,” उनले भने, “चुनावबाट जनताको आवाज संसदमा पुर्याउन र सरकारका बेइमानीविरुद्ध आवाज उठाउन राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दछु।”
उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका कमल थापालाई विजयी गराउन पनि आग्रह गरेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया