हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभइ राप्रपा सत्तामा जाँदैन : कमल थापा

169 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राप्रपा सत्तामा नजाने स्पष्ट पारेका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने बताएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका थापाले “राजा मतदाता भएको निर्वाचन क्षेत्रबाट विजयी हुनु देश तथा विदेशमा महत्वपूर्ण सन्देश जाने” दाबी गरे।

उनले काठमाडौं–५ मा हिन्दुराष्ट्र, राजसंस्था र राष्ट्रवादका पक्षधर मतदाताको ठूलो संख्या रहेको तर्कसमेत गरे। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति चाहनेहरूले राप्रपालाई विजयी गराएर काम गर्ने मौका दिनुपर्ने उनको आग्रह थियो।

सोही कार्यक्रममा राप्रपा नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो राजनीतिक फेरबदल आवश्यक रहेको बताए। राजतन्त्र हटाएर गणतन्त्र आएपछि दलहरूले चलाएको शासन प्रणाली प्रभावकारी नभएको उनको भनाइ थियो।

त्यस्तै, नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान व्यवस्थाका कारण नेपाली युवाहरूमा आक्रोश बढेको टिप्पणी गरे। ‘जेन–जी’ पुस्ताको असन्तुष्टि पनि अहिलेको शासन व्यवस्थासँग जोडिएको उनको तर्क थियो।

राप्रपा नेताहरूले वर्तमान राजनीतिक व्यवस्था असफल भएको दाबी गर्दै वैकल्पिक शक्तिका रूपमा आफ्नो पार्टीलाई अघि सारेका छन्।