धनकुटामा पैदल कार्यक्रम स्थगित, बालेन गाडीबाटै परिक्रमा गरेर फर्किए

170 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) धनकुटा सदरमुकाममा तय गरिएको पैदल कार्यक्रम स्थगित गर्दै गाडीबाटै परिक्रमा गरेर फर्किएका छन्।

शनिबार धनकुटाको भीमनारायण चोकबाट मदन चोकसम्म पैदल हिँड्दै मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय गरिएको थियो। तर, अन्तिम समयमा कार्यव्यस्तताका कारण कार्यक्रम स्थगित गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ।

भीमनारायण चोकमा पुगेका शाह गाडीबाट नओर्ली झ्यालबाटै केहीबेर कार्यकर्ता र समर्थकसँग हात मिलाएर फर्किएका थिए। रास्वपा धनकुटाले केही दिनअघिदेखि उनको आगमनको प्रचार गरे पनि उनी सदरमुकाममा सवारीबाट ओर्लिएका छैनन्।

रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालका अनुसार, दिउँसो २ बजे बजार परिक्रमा गर्ने कार्यक्रम तय भए पनि विराटनगरमा आयोजना हुने आमसभामा सहभागी हुनुपर्ने भएकाले धनकुटाको कार्यक्रम स्थगन गरिएको हो। उनका अनुसार, निर्वाचनअघि कुनै एक दिन बालेनको प्रमुख आतिथ्यतामा धनकुटामा आमसभा आयोजना गरिनेछ। शाहले फेरि आउने प्रतिबद्धता व्यक्त गरेको दाहालले बताए।

यसअघि शाहले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा पुगेर समर्थकसँग भेटघाट गरेका थिए। शनिबार बिहान धनकुटा आउनुअघि उनले हिले बजारमा केही समय पैदल हिँड्दै मतदाता भेटेका थिए।

झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका शाह पूर्वी पहाडी जिल्लाहरूमा चुनावी अभियान सञ्चालन गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत पाख्रिबास र धनकुटा बजारमा व्यापक प्रचार भए पनि तय गरिएका कार्यक्रमहरू अन्तिम समयमा प्रभावित भएका छन्।

बिहीबार र शुक्रबार स्थानीय कार्यकर्ताले शनिबारका कार्यक्रमबारे फरक–फरक समय सार्वजनिक गरेका थिए। तर, अन्तिम अवस्थामा कार्यक्रम स्थगित भएको हो।

शाह हाल इटहरी पुगिसकेका छन्।