काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई औपचारिक रूपमा सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघिका सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो। सो रिक्त पदमा अब गृहमन्त्री अर्याललाई जिम्मेवारी तोकिएको हो।
राजीनामा दिएका खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनेका छन्। निर्वाचनमा होमिएपछि मन्त्री पदमा रहनु उपयुक्त नहुने भन्दै उनले स्वेच्छिक रूपमा राजीनामा दिएका थिए।
सरकारको प्रवक्ताको जिम्मेवारी पाएका अर्यालले अब मन्त्रिपरिषद् बैठकका निर्णय, सरकारका नीतिगत तथा समसामयिक विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नेछन्। यससँगै गृहमन्त्रालयको जिम्मेवारीसँगै सरकारको प्रवक्ताको भूमिका पनि उनले सम्हाल्ने भएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेको यस निर्णयलाई आगामी निर्वाचनको सन्दर्भमा सरकारको कार्यसम्पादनलाई निरन्तरता दिन र सूचना सम्प्रेषणलाई व्यवस्थित बनाउन गरिएको कदमका रूपमा हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया