काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ।
सोमबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको जानकारी दिनुभयो। साथै उहाँले आसन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभयो।
मन्त्री खरेलले सरकारमा रहँदा मुलुकको विकास र सुशासनका लागि आधारशिला तयार पारेको दाबी गर्नुभयो। आफूहरूले तयार पारेको आधारशिलामाथि निर्वाचित सरकारले काम गर्न सकेमात्र देशमा विकास र सुशासन सम्भव हुने उहाँको भनाइ छ।
उहाँले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै यसको अन्त्य अपरिहार्य रहेको बताउनुभयो। “कुर्सीमा बस्ने हरेक व्यक्तिले जनताको हितलाई केन्द्रमा राखेर सोच्नुपर्छ,” उहाँले जोड दिनुभयो।
पत्रकार सम्मेलनमा खरेलले भन्नुभयो, “हामीले बनाएको आधारशिलामा आउने सरकारले काम गर्यो भने देशको विकास सम्भव छ। थिति र विधि बनाइए पनि त्यसअनुसार नचलेकै कारण देश बनेन। सबैभन्दा ठूलो रोग भ्रष्टाचार रहेछ, यसको अन्त्य गर्नैपर्छ।”
खरेलले गत असोज ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया