काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले मधेश इतिहास बोकेको भूमि भएकाले देशको भाग्य परिवर्तन अब मधेशबाटै हुनुपर्ने बताएकी छिन्।
सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले परिवर्तनको नेतृत्व मधेशले लिनुपर्ने समय आएको उल्लेख गरिन्। आगामी निर्वाचनपछि मधेशकै छोरा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको उनको भनाइ थियो।
‘हामी परिवर्तनको उद्घोष लिएर देशव्यापी रूपमा हिँडेका छौँ। इतिहास बोकेको ठाउँ हो मधेश। आज यो उद्घोष सभाबाट मधेशले वाचा गर्नैपर्छ—यो देशको भाग्य परिवर्तन गर्नैपर्छ,’ गौतमले भनिन्, ‘मधेश अग्रपंक्तिमा रहनैपर्छ, किनकि रास्वपा आज अग्रपंक्तिमा उभिएको छ। अबको निर्वाचनबाट यो देश बालेन शाहज्यूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ।’
बलिदान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले पार्टी सभापति रवि लामिछानेले १०–१५ वर्षअघि क्यामेरा बोकेर मधेशका फाँटदेखि देशभरका समस्या उजागर गर्दै हिँडेको स्मरण गरिन्।
‘आज बलिदान दिवस मनाइरहँदा हाम्रो पार्टी सभापति रवि लामिछानेले वर्षौँअघि मधेश पुगेर देशका पीडा उजागर गरिरहनुभएको थियो,’ उनले भनिन्।
कार्यक्रममा बालेन शाह पार्टीमा प्रवेश गर्दैगर्दा रास्वपाले पूर्णता पाएको अनुभूति भएको समेत गौतमको भनाइ थियो।
‘बालेन्द्र शाहज्यू जन्मका हिसाबले मधेशका छोरा, राजनीतिक उदयका हिसाबले काठमाडौंका छोरा र मेयरको रूपमा उहाँ स्थापित हुनुभयो,’ उनले भनिन्, ‘आज अपनत्वको हिसाबले उहाँ देशकै छोरा भएर एउटै ठाउँमा उभिनुभएको छ। यो ऐतिहासिक क्षण हो।’
रवि लामिछाने र बालेन शाहको संयुक्त उपस्थितिले देश हाँसेको, आशा पलाएको र भविष्य देखिएको गौतमले बताइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया