काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू चुनावबाट डराएको नभएको स्पष्ट पारेकी छन्।
सोमबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले यसपटकको निर्वाचनले आफूलाई कुनै पनि हिसाबले तरंगित नगरेको बताइन्। यसअघि काठमाडौं–१ मा हेभिवेट नेता प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गरेको स्मरण गर्दै उनले अहिले पनि भिड्न नडराउने बताएकी हुन्।
‘कसै न कसैसँग त भिड्नैपर्छ। हिजो पनि भिडेरै आएको हो। काठमाडौं–१ मा प्रकाशमान सिंहसँग भिडेँ, पराजित भएँ,’ दाहालले भनिन्, ‘तर भिड्न डराउँदिन। सामान्य चुनावमा डराउने कुरा हुँदैन।’
चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरिरहेको चर्चा छ। यस सन्दर्भमा प्रतिक्रिया दिँदै दाहालले महिला–महिला भिडाइएको भन्ने टिप्पणीप्रति पनि धारणा राखेकी छन्।
‘सोबिता कि रेणु भन्ने कुरा आइरहेका छन्। दुई नारीलाई भिडाउन हुँदैन भन्ने कुरा पनि आएका छन्,’ उनले भनिन्, ‘सबै जना तरंगित भएजस्तो देखिन्छ। तर म चाहिँ कत्ति पनि तरंगित छैन। अन्ततः कार्यसम्पादन र कर्मका आधारमा जनताले मूल्यांकन गर्ने हो।’
यसपटक चितवन क्षेत्र नम्बर ३ को निर्वाचनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया