काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ रुकुमपूर्व जाने भएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ताको कार्यसूची रहेको छ। नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि सबै तयारी पूरा गरिएको छ।
नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको सम्पूर्ण कार्यतालिका तय भइसकेको छ। ‘उहाँ सोमबार रुकुमपूर्व पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ,’ वलीले बताए।
प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेपछि बुधबार मात्र काठमाडौं फर्कने कार्यतालिका रहेको पनि वलीले जानकारी दिए। ‘यस अवधिमा उहाँले जिल्लाका नेता तथा कार्यकर्तासँग विशेष राजनीतिक छलफल र परामर्श गर्नुहुनेछ,’ उनले भने।
यसअघि २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक जनयुद्धको आधारभूमि मानिने रुकुमपूर्वबाट निर्वाचन लड्ने तयारीमा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया