जनकपुरधाम । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आज जानकी मन्दिरमा पूजा अर्चना गर्दै दिनको सुरुवात गरेका छन्।
एकाबिहानै जानकी मन्दिर पुगेका शाहले पूजा अर्चनापछि मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट गरेका थिए। भेटमा पूर्वसांसद अमरेश कुमार सिंह पनि सहभागी थिए। अमरेश कुमार सिंह आज जनकपुरधाममा आयोजना हुने सभामार्फत रास्वपामा प्रवेश गर्ने तयारीमा छन्।
जानकी मन्दिरको पूजा सम्पन्न गरेपछि बालेन शाह मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न सिरहाको लहानतर्फ प्रस्थान गरेका छन्।
उक्त सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसहित बालेन शाह आइतबार साँझ जनकपुरधाम आइपुगेका थिए। त्यसअघि उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए।
बालेन शाह फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया