काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको छ ।
यसअघि राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिइसकेका छन् । तीनै जना राष्ट्रियसभा सदस्य पद छाडेर प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न लागेका हुन् ।
नारायणकाजी श्रेष्ठले २०७० सालमा मकवानपुर र २०७४ सालमा गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए । त्यसपछि उनी २०७६ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । ६५ वर्षीय श्रेष्ठको राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने समयको दुई दिनअघि उनले राजीनामा दिएका हुन् ।
७७ वर्षीय वामदेव गौतमले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएका छन् । गौतम २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०५३ सालमा गृहमन्त्री बनेका थिए । २०५६ र २०६४ सालको निर्वाचनमा पराजित भएका उनी २०७० सालमा बर्दिया–१ र प्युठान–१ बाट निर्वाचित भएका थिए । २०७४ सालमा पुनः बर्दिया–१ बाट उम्मेदवार बनेर पराजित भएपछि उनी राष्ट्रियसभामा पुगेका थिए । २०७७ असोज १ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् । उनको कार्यकाल पनि आगामी फागुन २० मा सकिँदैछ ।
त्यस्तै, राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको कार्यकाल पनि फागुन २० मै सकिन लागेपछि उनले एक महिना अगावै राजीनामा दिएकी हुन् । उनी पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया