देउवा पक्ष सर्वोच्च अदालतमा, गगन थापा र निर्वाचन आयोगविरुद्ध रिट दर्ता

173 Shares

काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष आइतबार दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्च अदालत पुगेको छ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिएको भन्दै निर्वाचन आयोगले गत शुक्रबार गरेको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन्। देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भइसकेको छ।

उनले भने, “हाम्रो रिट दर्ता भइसकेको छ। सकेसम्म आजै पेशीमा चढेर आदेश आउने अपेक्षा गरेका छौं। आइतबार सुनुवाइ नभए भोलि बिदा भएकाले पर्सि मंगलबार बिहानै सर्वोच्चले आयोगको निर्णयमा आदेश दिन सक्ने आशा गरेका छौं।”

हाल कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगले गगन थापालाई सभापतिको मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले अदालत जाने निर्णय गरेको थियो।

यही माघ ६ गते प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मनोनयन दर्ताको समय तोकिएकाले त्यसअघि नै कांग्रेसको विवाद टुंगिनुपर्ने दबाब बढेको छ। समयमै विवाद समाधान नभए आगामी फागुन २१ गते तय भएको निर्वाचन नै प्रभावित हुन सक्ने जोखिम देखिएको छ।

यदि कांग्रेसको विवाद लम्बिँदै सर्वोच्चबाट समयमै आदेश नआए निर्वाचन प्रक्रिया नै पछि धकेलिन सक्ने सम्भावना पनि बढेको विश्लेषण गरिएको छ।