काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउन सकिने बताउनुभएको छ।
काठमाडौंमा आइतबार आयोजित २६औँ इप्पान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले नेपालको जलस्रोतको बहुआयामिक उपयोग र स्वच्छ ऊर्जामार्फत समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा देखिएका कानुनी जटिलताका विषयमा हालसम्म पर्याप्त पहल किन हुन नसकेको भन्ने गुनासो निजी क्षेत्रप्रति पनि रहेको उल्लेख गर्नुभयो।
मन्त्री सिन्हाले जलविद्युतलाई स्वच्छ ऊर्जाको रूपमा विकास र प्रवर्द्धन गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। साथै जलस्रोतसँगै सौर्य ऊर्जा तथा अन्य वैकल्पिक ऊर्जा स्रोतलाई पनि समान महत्व दिनुपर्ने बताउनुभयो।
जलविद्युत उत्पादनमा उत्साहजनक लगानी र विकासका सम्भावनाबीच घरेलु कृषि, व्यावसायिक उद्योग, यातायात, निर्माण तथा खानीजस्ता क्षेत्रमा प्रयोग हुँदै आएको परम्परागत ऊर्जालाई क्रमशः स्वच्छ तथा नवीकरणीय विद्युत ऊर्जाले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो। यसका लागि स्वच्छ ऊर्जा रुपान्तरणलाई नीतिगत तथा कार्यक्रमगत प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
१५ वर्षअघि नै आवश्यक कानुन र तिनको अन्तरसम्बन्धका कारण देखिएका समस्यामाथि अध्ययन भए पनि हालसम्म त्यसबारे ठोस पहल हुन नसकेको मन्त्री सिन्हाले बताउनुभयो।
मन्त्री सिन्हाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी र सार्वजनिक–निजी साझेदारीका सफल अभ्यासलाई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि सिकाइका रूपमा लिन सकिने उल्लेख गर्नुभयो। विद्युतीय क्षेत्रमा उदारीकरणसँगै विदेशी लगानीको आगमन भइरहेको बताउँदै ऊर्जा उत्पादनसँगै बजार विस्तार, विकास र व्यवसायीकरणमा इप्पानले महत्वपूर्ण भूमिका खेलेको पनि उहाँले बताउनुभयो।
ऊर्जा क्षेत्रको थप विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सक्रिय रूपमा पहल गरिरहेको मन्त्री सिन्हाको दाबी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया