काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाइने तयारी छ। उम्मेदवार चयनपछि रास्वपा सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम रहेको बताइएको छ।
बालेन शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका छन्। सोही उद्देश्यका लागि रास्वपाले झापामा सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेको छ।
इन्जिनियरिङ विषय अध्ययन गरेका र र्यापरको छविबाट परिचित बालेन शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि उनी रास्वपामा प्रवेश गरेका थिए।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया