नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु, ४९ प्रतिशत प्रतिनिधिको नाम दर्ता

137 Shares

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। हाल महाधिवेशनको उद्घाटन सत्र जारी रहेको छ भने पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरूले शुभकामना मन्तव्य दिइरहेका छन्। उद्घाटन सत्रकै क्रममा सोमबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी दिइएको छ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेदेखि सुरु गरिएको हो। आयोजकका अनुसार हालसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार ३ सय ४० जनाले दर्ता गराइसकेका छन्।

सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क व्यवस्था गरी भृकुटीमण्डपको मूल गेट नजिकका स्टलहरूबाट नाम दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ। नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य गरिएको छ।

यसअघि गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग गरेका थिए। संस्थापन पक्षले उक्त मागलाई बेवास्ता गरेपछि संवैधानिक व्यवस्थालाई टेकेर पार्टीलाई पुनर्जागरण गर्ने उद्देश्यसहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरु भएको हो।