सभापति बन्न विशेष महाधिवेशन मागेका होइनौँ : महामन्त्री थापा

167 Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ।

बुधबार बुद्धिजीवीहरूसँगको छलफलमा महामन्त्री थापाले केही नेताहरूले आफू सभापति बन्नकै लागि पार्टीभित्र विरोध गरिरहेको आरोप लगाएको उल्लेख गर्दै त्यस्तो आरोप निराधार भएको बताउनुभयो। उहाँले आफूहरूलाई सभापति बन्ने कुनै चाहना नरहेको जिकिर गर्नुभयो।

महामन्त्री थापाले सभापति बन्न चाहने डा. शेखर कोइराला वा अन्य कुनै पनि नेता सभापति बन्न सक्ने बताउँदै पार्टीभित्र व्यक्तिभन्दा पनि दिशाको बहस आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले पार्टीभित्र मौलाउँदै गएको कारोबारी राजनीतिलाई अन्त्य गर्नु अपरिहार्य भएको पनि उल्लेख गर्नुभयो।

उहाँले पार्टीलाई सही ठाउँमा उभ्याउने नै आफूहरूको एकमात्र उद्देश्य रहेको बताउँदै भन्नुभयो,
‘२३ र २४ गतेपछि देशका मुख्य दलहरूमा दुईखाले धारणा देखा परे। एउटा—हामी नै सधैं ठीक थियौँ भन्ने, अर्को—हामी पहिले ठीक थिएनौँ भन्ने। हामीले दोस्रो धारणा राख्यौँ। हामी उभिएको ठाउँ, हाम्रो गति र दिशा ठीक थिएन। नागरिकमा आक्रोश थियो, त्यसका कारण बुझ्नुपर्छ र त्यसकै आधारमा पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ।’

महामन्त्री थापाले प्रिन्सिपल र उद्देश्यको राजनीतिमा फर्कनुपर्ने आवश्यकता औँल्याउँदै हतारहतार नेतृत्व परिवर्तन गर्न खोजिएको भन्ने आरोप अस्वीकार गर्नुभयो।
‘हामीलाई सभापति बन्नु छैन। को बन्न चाहन्छ, बन्नुस्। डा. शेखर कोइराला वा अन्य कुनै नेता बन्न सक्नुहुन्छ। तर पार्टीलाई सही दिशामा उभ्याउनुपर्छ,’ उहाँले भन्नुभयो।

महामन्त्री थापाले नेपाली काँग्रेसलाई संस्थागत रूपमा मजबुत बनाउँदै परिवर्तनको एजेन्डा जीवित राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले देशको ठूलो लोकतान्त्रिक पार्टीलाई अझ सशक्त बनाउने बाहेक आफूहरूको अन्य कुनै स्वार्थ नरहेको स्पष्ट पार्नुभयो।