काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको तयारीस्वरूप ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने भएको छ। निर्वाचनका लागि उम्मेदवार छनोटलाई व्यवस्थित र पारदर्शी बनाउन यो अवधारणा अघि सारिएको हो।
यससम्बन्धी विषयमा आज बस्ने रास्वपाको सचिवालय बैठकमा छलफल हुने कार्यसूची रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार सचिवालय बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा कुल १० वटा कार्यसूचीमा छलफल हुने छ।
बैठकका प्रमुख कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति निर्धारण, उम्मेदवार सिफारिस उपसमिति विस्तार, पार्टी समायोजन उपसमिति र केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय तथा जिल्ला स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रमलगायतका विषय समावेश छन्। सोही कार्यसूचीको अन्तिम बुँदामा स्थानीय तह उम्मेदवार क्लब गठनको विषय राखिएको छ।
रास्वपाले स्थानीय तह निर्वाचनको तयारीअन्तर्गत यो अवधारणा अगाडि बढाउन लागेको हो। नेताहरूका अनुसार उम्मेदवार क्लब स्थानीय तह केन्द्रित हुनेछ। पालिका तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्लबमा नाम दर्ता गर्नुपर्ने व्यवस्था रहनेछ। वडा अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख कार्यकारी पद मानिने भएकाले ती पदका इच्छुक उम्मेदवारहरू क्लबमा सूचीकृत हुनेछन्।
उम्मेदवार क्लबको अवधारणा पार्टी सभापति रवि लामिछानेले २०८० साल मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीमा सम्पन्न केन्द्रीय समिति तथा संसदीय दलको बैठकमा अघि सार्नुभएको थियो। सो अवधारणालाई कार्यान्वयनतर्फ लैजाने विषयमा आजको सचिवालय बैठकमा छलफल हुन लागेको हो।
नेताहरूका अनुसार क्लबमा दर्ता भएका इच्छुक उम्मेदवारलाई पार्टीले प्रशिक्षण दिनेछ। निर्वाचित भएपछि जनप्रतिनिधिले गर्नुपर्ने काम, जिम्मेवारी र नीतिगत पक्षबारे पूर्वतयारी गराउन उम्मेदवार क्लबको अवधारणा ल्याइएको हो। साथै क्लबमा दर्ता हुने व्यक्तिले निर्वाचित भएमा आफूले गर्ने कार्ययोजना पार्टीसमक्ष प्रस्तुत गर्न सक्नुपर्नेछ।
उम्मेदवार क्लबमा सूचीकृत हुनु पार्टीको नियमित राजनीतिमा सक्रिय हुनुपर्ने अनिवार्य सर्त भने नरहने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया