काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ।
यसका लागि पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठकले उम्मेदवार छनोटसँगै अन्य राजनीतिक दलहरूसँगको चुनावी तालमेलबारे पनि निर्णय गर्ने बताइएको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचनमा सिट बाँडफाँटको विषयमा नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको छ। राष्ट्रिय सभामा सबैभन्दा ठूलो मतभार रहेको कांग्रेसले आफ्नो हैसियतअनुसारको प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन जित्ने रणनीतिका साथ अन्य दलहरूसँग सहकार्य अघि बढाएको उहाँले बताउनुभयो।
बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुने जनाइएको छ। निर्वाचनमा निर्णायक मतभार रहेका सबै दलहरूसँग सहमतिको प्रयास भइरहेकाले आजको बैठक निर्णायक हुने कांग्रेसले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया