काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन भोलि (मंगलबार) पुनः बैठक बोलाएको छ।
सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका विषयमा छलफल जारी राख्ने र भोलि ११ बजे फेरि बैठक बसाएर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको हो।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकमा अन्य दलहरूसँगको चुनावी तालमेल र उम्मेदवारको विषयमा छलफल भइरहेकोले भोलि बैठक बसेपछि निर्णय सार्वजनिक गरिनेछ। कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायतसँग छलफल गरिरहनुभएको छ।
प्रवक्ता महतले भने, “राष्ट्रिय सभामा प्रतिनिधित्व कसरी हुने, अन्य दलहरूसँग सहकार्यको विषयमा नेतृत्व तहबाट छलफल जारी छ। जसको भोटिङ स्ट्रेन्थ छ, त्यसको आधारमा सहकार्य तय गर्ने प्रयास भइरहेको छ। भोलि ११ बजे बस्ने बैठकमा उम्मेदवारबारे टुंगो लाग्ने छ।”
नेपाली कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार राख्ने दल भएकाले यसको आधारमा अन्य दलहरूसँग तालमेल गरेर निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको उनले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया